विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी छन्।
उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए।
दसैंको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो। अचानक हातमा सर्पले डसेपछि सुरूमा घरमै झारफुक र घरेलु औषधि गराइएको थियो।
विषले जटिल बनाउँदै लगेपछि आज बिहान बल्ल उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएका थिए। अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। रासस