रूपा गन्धर्वका १९ वर्षीय जेठो छोरा गणेश दृष्टिविहीन छन्। १३ वर्ष लाग्न लागेकी छोरी मनिषा शारीरिक रूपमा अपांग छिन्। गणेश नजिकैको ब्रेललिपीबाट पढाइ हुने नमूना मावि रक्षाचौरमा कक्षा ७ मा पढ्छन्। छोरीहरू गंगा र जमूना सोही विद्यालयमा कक्षा २ मा पढ्छन्।
मनिषा हिँड्डुल गर्न सक्दिनन्।
मनिषा मुनिका जुम्ल्याहा गंगा र जमूना दिदी बहिनी पनि दृष्टिविहीन नै छन्।
रूकुम पश्चिमको तत्कालीन गरईला गाविसकी रूपा र उनका सन्तान सामाजिक संघ संस्थाको सहयोगमा दश वर्ष पहिले दाङको तुलसीपुरमा आएर बस्न थालेका हुन्।
अहिले पनि उनीहरूको परिवारले तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरमा दुइटा कोठा भाडामा लिएर आश्रय लिँदै आएको छ।
तीन भाइबहिनी दृष्टिविहीन र एउटी छोरी पूर्णरूपमा अपांग छन्। जुम्ल्याहा दिदी बहिनी जन्मिनुभन्दा पहिलेदेखि नै रूपाको श्रीमानले दोस्रो विवाह गरेर छुट्टै बस्न थालेको रूपाले बताइन्।
‘म गर्भवती भएपछि मेरो श्रीमानले मलाई छोडेर अर्कैसँग बस्न थाल्नु भएको हो,’ रूपाले सुनाइन्। उनको बारेमा समाचारहरू आएपछि सहयोगी हात जुटे।
देशविदेशबाट झन्डै साढे ६ लाख जति रूपालाई सहयोग उठ्यो। आफ्ना दृष्टिविहीन र अपांगता भएका छोराछोरीसहित रूकुमबाट दाङ र दाङ हुँदै काठमाडौंसम्मको यात्रा रूपाले गरिन्। पछि माइती नेपालले उनलाई आश्रय दियो। तीन महिना काठमाडौं बसाइका क्रममा रूपा आफ्ना तीन दृष्टिविहीन सन्तानसहित तिलगंगा आँखा अस्पताल पुगिन्।
धेरैले रूपालाई हौसला दिए, आशा जगाए। अपरेसनपछि उनका सन्तानले आँखा देख्न सक्छन् भनेर। तर, अस्पतालले चेक गरेपछि त्यो सम्भव नरहेको बतायो। त्यसले रूपाको सपनामा तुषारापात भयो।
तीन महिनापछि रूपा सहयोगीको साथमा दाङको तुलसीपुर आइन्।
बचेको रकममध्ये ६ लाख झिक्न नपाउने गरी रूपाको बैंक खाता खोलेर राखिएको छ।
‘त्यो रकम झिक्न मिल्दैन,’ रूपाले भनिन्, ‘पहिले आठ हजार जति मासिक ब्याज आउँथ्यो अहिले घटेर पाँच हजार मात्रै आउँछ।’
उनका जेठा छोरा गणेशले विवाह पनि गरिसकेका छन्। गणेशले भने, ‘हामी ६ जना दुई कोठामा मिलेर बस्ने गर्छौं।’
गणेशका अनुसार उनीहरूले बस्ने भाडाको घरमा पहिले केही खसी बाख्रा पनि पाल्थे। तर, अर्काको घरमा बस्नु पर्दा किचकिच गरेपछि बाख्रा पाल्न पनि छोेडेको गणेशले बताए।
गणेशका अनुसार उनीहरूको बाँच्ने आधार नै दया भाव राखेर चाडपर्वको समयमा प्राप्त हुने खाद्यान्न नै हो।
‘यहाँका मानिस र संघ संस्थाको सहयोग बिना त हामी खाना पनि खान पाउँदैनौं,’ गणेशले प्रश्न गरे, ‘आमाले बहिनी मनिसालाई रेखदेख र ख्याल गर्ने कि ज्याला मजदुरी गर्न जाने ?’
तर, रुपाले कहिले काँही आफू पनि गाउँघरमा ज्याला मजदुरी गर्न जाने गरेको बताइन्।
गन्दर्भका परिवारलाई नगद र खाद्यान्न सहयोग
तुलसीपुर क्षेत्रका व्यवसायी र सामाजिक क्षेत्रमा क्रियासिल संगठनहरूले रुपा गन्दर्भको परिवारलाई आइतबार नगद तथा खाद्यान्न सहयोग गरेका छन्।
नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको नेतृत्वमा पुगेका उद्योगी, व्यवसायी र संघ संगठनका प्रतिनिधिले तुलसीपुर ४ रक्षाचौरमा पुगेर गन्दर्भ परिवारलाई साढे बाह्रा हजार नगद र करिब दुई महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका हुन्।
दसैं, तिहार जस्ता चाड पर्वहरूमा कसैको घरमा पनि खाद्यान्न अभाव नहोस् भन्ने हेतुले गन्दर्भ परिवारलाई विगत आठ बर्षदेखि नियमित खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आएको काँग्रेस तुलसीपुर नगर सभापति हमालले बताए।
सहयोग हन्तारन्तण कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठले मानवीय नाताले बिगतका वर्षहरू जस्तै चाडपर्वमा मिलेर सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
नगद र घरमा खाने अन्न भित्र भित्रिएको सुनिरहेका जुम्ल्याहा दिदी बहिनीको मुहारमा खुसी देखिन्थो। दाताहरूका लागि भनेर उनीहरूले गीत पनि गाएका थिए।
यो भाग्यमा खोट छ... बोलको गीत दृष्टिबिहीन जुम्ल्याहा दिदीबहिनीले गाएका थिए। तर, उनीहरूले त्यो गीत गाइरहँदा आफ्ना मनका पीडाहरू पोखिरहे झैं देखिएको थियो।