रोल्पामा एक व्यक्ति मृत फेला परेका छन्।
रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घरभित्र सोमबार बिहान ११ बजे शव फेला परेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले घटना अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको बताए।
‘मृतकको घाँटीमा धारिलो हतियारले रेटेको देखिएको छ,’ सुवेदीले भने, ‘नेपालगञ्जबाट कुकुर आउन लागेको हुँदा अहिलेसम्म हामीले घटनास्थल टाढैबाट घेरेर सुरक्षित राखेका छौं।’
कुकुर आइनपुग्दासम्म घटनास्थलमा मानिसको आवातजावात गर्न नदिने उद्धेश्यले प्रहरी पनि टाढै बसेको उनले बताए।
हत्या गरिएका व्यक्ति घरमा एक्लै बस्दै आएको खुल्न आएको डिएसपी सुवेदीले बताए।
‘दुई छोरा विदेशमा र एक छोरा काठमाडौंमा बस्ने गरेको कुरा खुल्न आएको छ,’ डिएसपी सुवेदीले भने, ‘बुढाका दुई श्रीमती रहे पनि १०/१२ वर्ष पहिले नै मृत्यु भइसकेको खुलेको छ।’
हत्या गरिएका व्यक्तिका बुवा/आमा करिब दुई सय मिटर टाढा छुट्टै घरमा बस्दै आएको पनि प्रहरीले बताएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी सुवेदीले जानकारी दिए।