इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्।
सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना सोमबार बिहान ६ बजे हिरासतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
राना इलाका प्रहरी कार्यालयको हिरासत कक्षभित्रको शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा मृत फेला परेको विष्टले बताए।
उनलाई आइतबार प्रहरीले चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। उनीमाथि जानकी गाउँपालिका वडा नम्बर १ तौरैयापुर बस्ने पुलुराम थारूको एउटा भैंसी चोरी गरेको आरोप थियो। आइतबार बिहान भैंसी हराएपछि खोजी गर्नेक्रममा रानालाई भैंसीसहित फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीलाई खबर भएपछि रानालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। पछि भैंसी धनी थारूले उनीमाथि आवश्यक कारबाही गरी पाऊँ भन्दै टीकापुरमा निवेदन दिएका थिए।
त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो। त्यसैक्रममा आइतबार उनी मृत फेला परेका हुन्। घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।