लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा अस्पताल बनाउने योजना अगाडि सारेको छ।
परोपकारी कार्य अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको हो।
धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति समेत भइसकेको छ।
जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरू गर्ने योजना अगाडि बढाएको बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए।
'हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरूप दिन खोजिरहेका छौं',आचार्यले भने,'अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’
अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनले बताए।
विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ। यो जग्गाबाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजी भइरहेको रजिष्ट्रार आचार्यले बताए।
अहिले सामान्य उपचारका लागि समेत भैरहवा, बुटवल आउनुपर्ने बाध्यता रहेकोमा अस्पताल निर्माणपछि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ।
सुरूमा विशेषज्ञ डाक्टरसहित ८ जनासम्म स्वास्थ्यकर्मी रहने अस्पताललाई विस्तार गर्दै ५० बेडसम्म सञ्चालन गर्ने योजना रहेको छ।
विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ।
धुलिखेल अस्पतालका डा. प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो।
धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा 'आउटरिच सेन्टर' चलाउँदै आएको छ।
अस्पतालका डा. कर्माचार्यले लुम्बिनीमा बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा अस्पताल सञ्चालन गर्न आफूहरू तयार रहेको बताए।
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको उल्लेख गर्दै विश्वविद्यालयले परापकारी काम गर्न अग्रसरता दिइरहने बताए।
विश्वविद्यालयले विभिन्न दाताहरूसँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ।
धुलिखेल अस्पतालले प्राविधिक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ। तत्काल सानो स्वरूपमा अस्पताल सुरू गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना छ।