झापाको बाह्रदसी गाउँपालिका-५ घोडामारास्थित भित्री सडकखण्डमा पिकअपको ठक्करबाट १५ वर्षीय किशोरीको मृत्यु भएको छ। सो घटनामा परेर किशोरीकी आमासहित अन्य दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भित्री सडकखण्डमा बिहीबार साँझ दक्षिणबाट पूर्व-पश्चिम राजमार्गतर्फ आउँदै गरेको मे१च २५४६ नम्बरको पिकअप अनियन्त्रित हुँदा घर अगाडि बाटोमा उभिरहेका स्थानीय ४० वर्षीया मीना पौडेल र उनकी छोरी १५ वर्षीया आइसा पौडेललाई ठक्कर दिई पिकअप पल्टिएर दुर्घटना भएको थियो।
दुर्घटनामा आमाछोरीसहित पिकअपमा सवार कन्काई नगरपालिका-९ बस्ने ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्रीसमेत घाइते भएका थिए।
तिनै जनालाई बिएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा आइसाको शुक्रबार बिहान मृत्यु भएको हो।
बोहराको अवस्था सामान्य रहेको छ भने आमा मीनाको दाहिने खुट्टा, अनुहार र नाकमा गम्भीर चोट लागेको छ।
दुर्घटनामा पिकअप चालक कन्काई–८ घैलाडुब्बा बस्ने ३६ वर्षीय अभय राजवंशीको निधार र दाहिने खुट्टामा सामान्य चोट लागेको र उपचारपश्चात् इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।