वैदेशिक रोजगारमा 'पोर्चुगल पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ८ घर भई भक्तपुर सल्लाघारी बस्ने ३३ वर्षीय शंकर लामालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको टोलीले बिहीबार उनलाई काठमाडौंको नयाँ बानेश्चरबाट पक्राउ गरेको महाशाखाले जनाएको छ।
शंकर गौशालास्थित नेपाल लाइफ रिक्रुमेण्ट एजेन्सी प्रालिका सञ्चालक हुन्।
उनले काभ्रे बेथानचोक गाउँपालिका ६ बस्ने आशिष थापालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई एग्रिकल्चरमा काम लगाउने भन्दै विश्वास दिलाएका थिए।
शंकरले आशिषबाट सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिइसकेका थिए।
साथै, उनले मोबाइल बैंकिङको पिन कोड समेत नियन्त्रणमा लिएर प्रदीप श्रेष्ठ भन्ने व्यक्तिको खातामा चार लाख रूपैयाँ पठाएर ठगी गरेका थिए।
त्यसरी ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले थप अनुसन्धान गरी शंकरलाई पक्राउ गरेको हो।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।