नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंले बिहीबार दुई जनालाई पक्राउ गरेको हो।
काभ्रे धुलिखेल घर भई काठमाडौंको चाबहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछाप खाडाँदेवी घर भई बौद्ध बस्ने २५ वर्षीय विनोद महतोलाई प्रहरीले पक्राउ गरेको हो।
इजाजतबिना सञ्चालनमा रहेको भारतको सिलिगुढीमा इम्पोरियम मार्केटिङ प्रालिको सम्पर्कमा राखेर पिरामिड शैलीको सदस्य बनाएर रकम पठाउन लगाई ठगी गरेको भन्ने जाहेरी परेको थियो।
जाहेरीपछि अनुसन्धान गर्दा इम्पोरियम मार्केटिङ प्रालिको सदस्य बन्नु र लाइफ बन्छ, जागिर पाइन्छ लगायत विभिन्न प्रलोभनमा पारेको खुलेको हो।
त्यसरी उनीहरूले एक लाख २० हजार रूपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहलमा पठाएको छ।