रुपन्देही प्रहरीले १४ लाख २९ हजार ७७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी रम्बापुर, वडा प्रहरी कार्यालय भैरहवा. मेउडिहवा, मैनिहवा लगायत स्थानबाट प्रहरीले उक्त बरारको भन्सार छलीको सामान बरामद गरेको हो।
भन्सार छलीमा प्रयोग भएका चार वटा मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
बरामद भएका सामानमा विभिन्न किसिमका कपडा, चिनी, काजु, रेडबुल लगायत छन्।
चाडबाडको मौका छोपेर हुने भन्सार छलीमाथि निगरानी बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।
सुट, सारी, कुर्ता सुरुवाल लगायत लत्ताकपडा र खाद्यान्नको सामान भन्सार छलेर नेपाल भित्र्याइने गरिएको पाइएको छ। सिमावर्ती भारतीय सहरमा तुलनात्मक रुपमा सस्तो मूल्यमा यस्ता सामान पाइने गरेका छन्।
बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।