काठमाडौं कीर्तिपुरको आइसोलेसनबाट भागेका थुनुवा पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरको नियन्त्रणमा रही आइसोलेसन सेन्टरबाट भागेका १९ वर्षीय राहुल तामाङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
उनलाई कालिमाटीको फोहोर मैला डम्पिङ गर्ने ठाउँबाट बुधबार नियन्त्रणमा लिइएको हो।
'हिजोदेखि खोजिरहेका थियौं, आज कालिमाटीको डम्पिङ साइटबाट पक्राउ गर्यौं,' पोखरेलले भने।
तामाङ मंगलबार दिउँसो सवा २ बजे उनी त्यहाँबाट फरार भएका थिए। उनलाई कोरोना संक्रमण भएपछि प्रहरीले आइसोलेसन सेन्टरमा राखिएको थियो।
त्यहाँ झ्यालको रड निकालेर उनी फरार भएका थिए। उनी लागुऔषधको मुद्दामा साउन २९ गते पक्राउ परेका थिए।