पुल्चोकको २ सय ६ वर्ष पुरानो समय् फल्चा (पाटी) बनाउने काम फेरि सुरू भएको छ। उच्च अदालतले दिएको 'स्टे अर्डर' आइतबार खारेज भएसँगै ललितपुर महानगरपालिकाले सोमबार बिहानैदेखि काम सुरू गरेको हो।
'उच्च अदालतले पहिलेजस्तै पुराना मुद्दा हेरेपछि हाम्रो पक्षमा निर्णय गरेको हो,' मेयर चिरिबाबु महर्जनले सेतोपाटीसँग भने।
लामो समयदेखि फल्चा पछाडि रहेको लालिगुराँस बहुउद्देशीय सहकारी संस्था र महानगरबीच मुद्दा चलेको थियो।
सहकारीले हालेको उच्च अदालतदेखि सर्वोच्चसम्मका सबै मुद्दा महानगरपालिकाले जितेको छ। यसअघि विभिन्न समयमा हालिएका मुद्दामा सर्वोच्च अदालतले दुईचोटि र उच्च अदालतले दुइचोटि पाटी निर्माण गर्न बाटो खोलिदिएका छन्।
गत भदौ ३ गते महानगरले पाटी शिलान्यास गर्ने तयारी गरेको थियो। पाटी छिटो बनाउन स्थानीयको पनि दबाब भइरह्यो। तर त्यसको अघिल्लो दिन लालीगुराँस सहकारीले जिल्ला अदालत ललितपुरको अन्तरिम आदेश लिएर आयो जसमा फल्चा बनाउन रोक्नु गर्नु भन्ने आदेश थियो।
अदालतको सम्मान गर्दै तत्कालका लागि महानगरले काम रोक्का गर्यो। उक्त राेक्का फुकुवा भएपछि महानगरले भदौ २४ गते शिलान्यास गर्दै पुन: काम सुरू गर्यो।
तर फल्चा बनाउँदा तीन तले सहकारी भवनका भुइँतलामा भाडामा रहेका पसलको बाटो बन्द हुने भन्दै विरोध भयो। ती पसलमध्ये होम फर्निसिङकी सब्बु सिंहले आफ्नो आवतजावत गर्ने बाटो नै रोकिएको भन्दै उच्च अदालतमा मुद्दा हालिन्। त्यही आधारमा उच्च अदालतले भदौ ३० गते काम रोक्न अन्तरिम आदेश दिएको थियो।
आदेश खारेज भएपछि महानगरपालिकाले सहकारी अगाडि सोमबार बिहानै जस्ता बारेर काम थालेको छ। जसमा नक्साहरु पनि टाँस्दै महानगरले लेखेको छ, 'मिति २०५८ सालमा अनिल राजभण्डारीको जग्गामा हाल श्री सहकारी भवन पास गर्दा दक्षिणपट्टि बाटो गरिएको र पुर्वमा ३२७ कित्ता रहेको जानकारी गराउँछु।'
लालीगुराँस सहकारीले करिब १२ वर्षअघि अनिल राजभण्डारीसँग यो घरजग्गा किनेको हो। साढे आठ आना क्षेत्रफलमा बनेको यो भवनको मुद्दा राजभण्डारीको समयदेखि चल्दै आएको हो।
आफूहरुले त्यसरी नक्सा राख्नु र जस्ताले बार्नुको कारण बताउँदै मेयर महर्जनले भने, 'अहिलेसम्म जुन बाटोमा फर्काएर सहकारी भवन बनेको छ, त्यो उसको बाटो नै होइन। हिजोसम्म जुन सुविधा सहकारीले पाएको थियो, त्यसबाट अब उ बञ्चित हुनेछ।'
एक आना एक दाम क्षेत्रफलको यो फल्चा पुनर्निर्माणका लागि महानगरले करिब तीस लाख रूपैयाँ र स्थानीयले करिब तीन लाख उठाएका छन्।
यो फल्चा रातो मच्छिन्द्रनाथ र इन्द्रजात्रासँग सम्बन्धित छ। यहाँ फल्चा हुँदाको समयमा यहीँ बसेर स्थानीयहरूले जात्राबेला समय् बजी खान्थे। समयक्रममा फल्चा मासियो। अनि समय् बजी खुवाउने कार्यक्रम कहिले घःमाः राखिएको लामोपाटी त कहिले पुल्चोककै सोह्रखुट्टेपाटी त कहिले सडक किनारमै पाल टाँगेर हुँदै आएको छ।
फल्चा पुननिर्माणपछि ति सबै गतिविधि पुन: सुचारु हुने मेयर महर्जन बताउँछन्।