नर्भिक अस्पतालका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ।
‘चौधरी निजी प्रयोजनका लागि दुबई गएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं’ नर्भिकले विज्ञप्तिमा भनेको छ।
पारिवारिक स्रोतका अनुसार मुटुमा समस्या देखिएपछि चौधरीलाई थप जाँचका लागि तीन दिनअघि दुबई लगिएको हो।
चौधरीले गत साता नर्भिक अस्पतालमै ‘एन्जियोग्राफ’ गराउँदा मुटुमा थोरै समस्या देखिएपछि परिवारका सदस्यको आग्रहमा उनी थप जाँचका लागि दुबई पुगेका हुन्।
दुबईस्थित एक अमेरिकी अस्पतालमा उनको मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको पारिवारिक स्राेतले जनाएको छ।