नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङका तीन गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। दस पालिकामध्ये तीन गाउँपालिकामा सर्वसम्मतले नेतृत्व चयन भएको हो।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको सभापतिमा झलक केसी सर्वसम्मत चयन भएका छन्।
केसी तुलसीपुर बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यक्ति हुन्। केसीले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीका प्यानलबाट गाउँपालिकामा उम्मेदवारी दिएका हुन्।
प्रतिस्पर्धी फर्शाराम डाँगीले केसीलाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय शुक्रबार नै गरेपछि नेतृत्व चयन भएको स्रोतले जनायो। डाँगी शान्तिनगर-२ का वडाध्यक्ष पनि हुन्।
उपाध्यक्षमा द्रोर्ण केसी र लालबहादुर बुढाथोकी चयन भएका छन्। तर शुक्रबार बेलुका साढे ६ बजेसम्म सचिव पदमा भने तीन जना आकांक्षी बनेको हुँदा सर्वसम्मत बनाउने प्रयास जारी रहेको स्रोतले बताएको छ।
त्यस्तै, बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणि वली र द्रोर्ण खत्री, सचिव वलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश बिक, केयरसिंह गाहा मगर सर्वसम्मत चयन भएका छन्।
लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो।
सभापति विद्याशरण चौधरी, उपसभापतिमा श्यामा रावत र प्रशान्त भुषाल, सचिवमा तीर्थराज ज्ञवाली र चैनकुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छ्न्।
जिल्लाको दस पालिकामध्ये सबभन्दा बढी तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनले चर्चा पाएको छ।
तुलसीपुर एउटा प्यालनबाट सभापतिमा सुरेश हमाल र अर्को प्यालनबाट अनिल कार्कीको टिमले शुक्रबार मनोनयन दर्ता गराएको छ। यहाँ झन्डै वडा प्रतिनिधि र वडा सभापति समेत गरी ५ सय ९५ जना मतदाता छन्।
घोराही उपमहानगरपालिकामा सभापति पदका लागि एउटा टिमबाट तिलक रावत र अर्को टिमबाट निरज गिरीले मनोनयन दर्ता गराएको छ।
लमही नगरपालिकामा सभापति पदमा एउटा टिमबाट शिवप्रसाद चौधरी र अर्कोबाट सन्तोष बुढाथोकीले मनोनयन दर्ता गरेका छन्।
तुलसीपुर पश्चिमको दंगीशरण गाउँपालिकामा सभापति पदका लागि एउटा टिमबाट शम्भु गिरी र अर्कोबाट हर्कबहादुर बुढाथोकीले दर्ता गराएका छन्।
दाङको सबैभन्दा पश्चिमको बबई गाउँपालिकामा सभापति पदमा एउटा टिमबाट प्रकाश बस्नेत र अर्को टिमबाट पर्शाराम भुषाल नेतृत्वको टिमले मनोनयन दर्ता गराएका हुन्। देउखुरीको गढवा गाउँपालिकामामा पनि दुई टिमले उम्मेद्वारी दिएका छन्। यहाँ सभापतिमा एउटा टिमबाट कृष्णराज पाण्डे र अर्को टिमबाट किरण पौडेलले उम्मेदवारी दिएका छन्।
सचिव पदमा पुरणप्रसाद चौधरी र पोषणराज शर्मा, ओमप्रकाश बतसेल र मधुसुदन शर्माको उम्मेदवारी परेको छ। गढवामा पनि अन्य सबै पदहरूमा भने सर्वसम्मति भइसकेको छ।
यो खबर तयार पार्दासम्म गढवा गाउँपालिकामा पनि सबै पदहरूमा सर्वसम्मतिको प्रयास जारी रहेको स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान साढे ११ बजे देखि दिउँसो साढे १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार नगर र गाउँपालिकामा नेतृत्व चुन्न मतदान हुँदैछ।