पार्सल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न सामाजिक सञ्जालमार्फत् चिनजान गरी पार्सल पठाइदिने भन्दै ठगी गरेको जाहेरीपछि महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको दार्जलिङ सिलगुढी घर भएका ३३ वर्षीय सन्दीप क्षेत्री छन्। प्रहरीका अनुसार उनी प्रेन्टी क्रोस्टल चर्चका पादरी पनि हुन्। उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो।
उनले फेसबुकमा न्यान्सी माइकल नामको फेक अकाउन्ट खोलेका थिए। सो अकाउन्टबाट विभिन्न व्यक्तिहरूलाई रिक्वेस्ट पठाएर आफू बेलायती नागरिक भनेर बोलेको आरोप छ।
त्यसरी विश्वासमा लिएर प्रेम गर्ने प्रलोभनमा पारी पार्सल पठाउने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। उपहारहरू पार्सल गरेको भन्दै विश्वासमा पारी ५ लाख १० हजार रूपैयाँ लिएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा उनी सिलगुढीको प्रेन्टी क्रोस्टल चर्चका पादरी भएको खुलेको छ। उनले विभिन्न धार्मिक कार्यक्रममा भेटेका महिलाहरूको खातामा सो रकम पठाउने गर्थे।
महिलाहरूलाई आफूले पैसा झिक्न नमिलेको भन्दै विश्वासमा लिएर उनीहरूमार्फत् भुक्तानी लिने गरेको महाशाखाले बताएको छ।
उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं परिसरमा पठाइएको छ।