रामेछापमा हतियार देखाएर डकैती गरेको आरोपमा चार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले डकैती गरेको आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।
बिहीबार दुई जनालाई रामेछाप र दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पु बस्ने ३३ वर्षीय ठूला भन्ने मिलन तामाङ, २६ वर्षीय लालबहादुर तामाङ, ३४ वर्षीय आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भूमिराज तामाङ छन्।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार उनीहरूले भदौ ३१ गते राति लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ जामुनेको एक घरमा लुटपाट गरेका हुन्।
उनीहरू राति करिब सवा १० बजे चन्द्रबहादुर बुढाथोकीको घरमा डकैती गर्न गएका थिए। चन्द्रबहादुर नेपाली सेनाका सुबेदार हुन्।
उनको घरमा श्रीमती सुनिताकुमारी र दुई जना छोरीमात्रै थिए। उनीहरूले टाउको र मुखमा रुमाल बाँधेको प्रहरीले जनाएको छ। त्यसक्रममा उनीहरूमध्ये एकले भरुवा बन्दुक बोकेका थिए भने अरूले छुरी र लौरो बोकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
राति एक्कासि आएका उनीहरूले आमा-छोरीहरूमाथि लौरो तथा बन्दुकको कुन्दाले पटक-पटक हिर्काएर घाइते बनाएका थिए।
कुटपिटपछि आमा सुनिताकुमारी अचेत भएकी थिइन्। छोरीहरूले उनलाई लिएर छिमेकमा गुहार माग्न गएका थिए। त्यही बेला प्रहरीलाई खबर भएको थियो।
'आमा अचेत नै भइन्। छोरीहरू चाहिँ अलि-अलि घाइते भएका थिए,' उनले भने।
घाइते भएकी सुनिताकुमारीको उपचारको लागि दोलखा किर्नेस्थित धुलिखेल शाखा अस्पतालमा पठाइएको थियो।
डाँका मार्ने व्यक्तिहरूले सुनका बेरुवा रिङ, नाकमा लगाउने फुली, पोते, ढुंग्री लगायतका गरगहना लगेको प्रहरीले बताएको छ। २५ देखि ३० हजार रुपैयाँ पनि लगेको बताइएको छ।
पक्राउ गरेकाहरूले डाँका मारेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
प्रहरीले पक्राउ परेकाहरूबाट एउटा भरूवा बन्दुक, सुनका केही गरगहना र मोबाइल बरामद गरेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।