कपनको मिलन चोकमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्।
बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सीमानामा रहेको मिलनचोक तरकारी बजार नजिकैको ढलमा एक बालक खसेका थिए।
मंगलबार राति साढे आठ बजेतिर बालक ढलमा खसेको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्।
'मिलन चोक खहरे भएको ठाउँ थियो। पछिल्लो समय बस्ती बस्यो। त्यहाँ ढल हालेर बनाइरहेको थियो,' उनले भनिन्,'त्यसैमा खसेको भन्ने छ।'
स्थानीयले बालक खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तर अहिलेसम्म फेला परेको छैन।
प्रहरी प्रभागमा अहिले दुई जना बालक हराएको हुलिया विवरण आएको प्रहरी निरीक्षक तिमल्सिनाले बताइन्। त्यसैमध्ये एक जना हो वा होइन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नभएको उनले बताइन्।
बालकको खोजी गर्न सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको विपद व्यवस्थापनको टोली खटिएको थियो।
सो टोलीले त्यहाँ वरिपरिका सबै ढलहरूमा खोजी गरेर फर्किएको छ।
'वरिपरिका सबै ढल र खोलामा खोजेर नभेटिएपछि उहाँहरू फर्किनुभएको छ,' उनले भनिन्।
सो क्षेत्रमा कतै नभेटिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अरू जिल्लासँग पनि समन्वय गरिरहेको बताइएको छ।