कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन्।
सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी अधिकारीले जानकारी दिएका छन्।
‘आक्रमण गर्ने मुख्य नाइकेलाई पक्राउ गरेको जानकारी चम्पावतका प्रहरी अधिकारीले हामीलाई दिएका छन्, अब उनको कारबाही प्रक्रिया उतै हुन्छ,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सेतोपाटीसँग भने।
सोमबार राति दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।
घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको प्रजिअ पाण्डेले जानकारी दिए।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगामुढा प्रहार गरेका हुन्। भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उनले बताए।