सीमा नाका पार गराउन सहजीकरण गर्ने भन्दै रूपन्देहीमा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्तालाई नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।
भारतबाट काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न भन्दै बेलहिया आएको ८ जना भारतीय पर्यटकसँग नाका पार गराईदिने भन्दै प्रतिव्यक्ति ५ सय भारतीय रूपैयाको दरले रकम लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका उनीहरूसँग सोही ट्राभल्समा कार्यरत गुप्ताले नेपाल प्रवेश गर्न प्रहरीलाई घुस दिनुपर्छ भन्दै रकम असुल गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पर्यटकसँग घुस लिएको उजुरी परेपछि दुवै जनालाई पक्राउ गरि अनुसन्धान शुरू गरिएको जानकारी दिए।