काठमाडौं जिल्ला अदालतले गाँजा किनबेच गरेको आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग धरौटी माग गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालक काफ्लेसहित तीन जनालाई लागु औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो।
सोमबार न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले दुई जनासँग १५-१५ हजार र एक जनासँग २७ हजार धरौटी माग गरेको अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
ब्यूरोको टोलीले भदौ २१ गते रेष्टुरेन्टमा काम गर्ने पश्चिम नवलपरासीका ५५ वर्षीय सुधिर प्रधानलाई सुरूमा पक्राउ गरेको थियो।उनीबाट प्रहरीले ८३ ग्राम ५०० मिलिग्राम गाँजा बरामद गरेको ब्युरोले जनाएको छ।
अनुसन्धानको क्रममा पछि काफ्लेलाई पक्राउ गरिएको थियो भने बुढानिलकण्ठ वडा नम्बर १ तौलङ डाँडाका ६३ वर्षीय कान्छा तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
तामाङबाट प्रहरीले ४३ ग्राम ५०० मिलिग्राम गाँजा बरामद गरेको थियो। तामाङबाट अदालतले २७ हजार धरौटी माग गरेको श्रेष्तेदार इटेनीले बताए।
'थुनछेक बहस पछि १५-१५ हजार माग गरिएको छ। कान्छा तामाङसँग भने थप १२ हजार मागिएको छ,' उनले भने।
प्रहरीले भदौ ३१ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए। सो मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको थियो।
राविज काफ्ले नेपालमा गाँजाको प्रतिबन्ध खुलाउनु पर्छ भन्दै माग गर्ने अभियन्ता हुन्।