ललितपुरको चापागाउँमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ।
गोदावरी नगरपालिका वडा नम्बर ११ सेराफाँटस्थित तरकारी खेतीको टनेलमा नवजात शिशुको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
बुधबार बिहान शिशु माटोको थुप्रोमा पुरिएको अवस्थामा फेला परेको थियो। त्यहाँ मकवानपुरकी सरिता घिसिङले तरकारी खेती गर्दै आएकी थिइन्।
'बिहान तरकारी टिप्न जाँदा माटोको थुप्रो देखिएको रहे। माटो पन्छ्याएर हेर्दा सालनालसहितको शिशु मृत अवस्थामा फेला परेको हो,' महर्जनले भने।
उनले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटना सम्बन्धी महानगरीय प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ।
शिशुको पोष्टमार्टमको लागि शव ललितपुरको पाटन अस्पतालमा लगिएको छ।
'शव चार-पाँच दिनको हो भन्ने जस्तो देखिन्छ। अलि-अलि कुहिएको जस्तो पनि देखिएको थियो,' महर्जनले भने।
वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार शिशु सालनालसहित फेला परेको हुँदा कसैले घरैमा पाएको हुनसक्ने आशंका छ। प्रहरीले त्यो क्षेत्रमा कोही गर्भवती थिए कि भन्ने बारेमा पनि अनुसन्धान गरिरहेको छ।
'मारेर राखेको होकि, पाउँदै मरेपछि त्यसरी फालेको हो भन्नेबारे सबै अनुसन्धान गर्दैछौं,' उनले भने,'त्यो क्षेत्रमा बस्ने गर्भवती महिलाहरू कोको थिए भन्ने बुझ्दैछौं।'
मारिएको हो वा मरेकै जन्मिएको भन्ने पोष्टमार्टमबाट पनि खुल्ने उनले बताए। अस्पतालमा भर्ना भएको नदेखिएको उनले बताए।
'अस्पतालमै जन्माएको जस्तो देखिएको छैन। किनभने अस्पतालमा नाबीमा च्याप्ने लगाउँछ। त्यो देखिएको छैन। त्यसैले कसैले रूम वा बाट तिरै जन्माएर फाल्यो भन्ने अनुमान छ,' उनले भने।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।