मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ।
बुधबार मन्त्रालयले एक एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको हो।
राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मान प्रदान गरे।
१५ औं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा २०७८ साल भदौ २० गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानब बेचबिखन तथा ओसारपसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानव बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत मुद्दा चलाएको थियो।
त्यसैगरी कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराएको थियो।
यही अवधिमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्दार गरी परिवारमा फर्काइएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेला पारी उद्दार तथा पारिवारिक पुनर्मिलन गराइएको थियो।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ।