बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार एक महिलालाई काठमाडौंको गहना पोखराबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको गहना पोखरी बस्ने ३२ वर्षीया जसमिन झालाई पक्राउ गरेको हो।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत फागुन ११ गते १६ लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो। सो सजाय सुनाएपछि फरार रहेकी झालाई प्रहरीले खोजेर पक्राउ गरेको हो।
फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पठाइएको छ।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोले पनि बैंकिङ कसुरको मुद्दामा एक जनालाई पक्राउ गरेको छ। बारा घर भई काठमाडौंको गल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनले उनलाई गत चैत ८ गते सात लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो। फरार रहेका उनलाई प्रहरीले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो।
सजाय कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।