पर्सामा प्रहरी र काठ तस्करबीच झडप भएको छ।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा सोमबार बिहान करिब ४ बजे झडप भएको प्रहरीले जनाएको छ।
पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए।
प्रहरीको संख्या कम देखेर ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेका थिए।
प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएको डिएसपी खनालले बताए।
यद्यपी तस्कर चढेको दुइटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनले जनाए।
बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना सम्बन्धमा थप अनुसन्धान गर्दै प्रहरीले फरार तस्करको खोजी कार्य गरिरहेको डिएसपी खनालको भनाइ छ।