ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।
सिद्धिचरण राजमार्गमा भएको टाटा सफारी गाडी दुर्घटना हुँदा बारा सिमरा उपमहानगरपालिका- १५ का ४५ वर्षीय पृथ्वीबहादुर श्रेष्ठको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।
आइतबार दिउँसो १२ बजे ओखलढुंगाबाट रामेछाप जादै गरेको बा ११ च ५२१० नम्बरको गाडी अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।
घाइते हुनेमा काभ्रेका ३२ वर्षीय मानकाजी तामाङ, मानेभन्ज्याङ-१ का २६ वर्षीय टेकबहादुर गिरी, उनकै छोरा ४ वर्षीय निर्जल गिरी र रामेछाप गोकुलगंगा-४ बेतालीका १२ वर्षीय अभिषेक योगी छन्।
गाडीका चालक ओखलढुंगा सिद्धिचरण-२ ठुलाछापका २९ वर्षीय केशब कटुवाल, टेकबहादुर गिरीकी श्रीमती २५ वर्षीया हिरामाया, रामेछाप गोकुलगंगा-४ बेतालीकी २८ वर्षीया राधीका योगी, उनकी एक वर्षीया छोरी अनुषा र ओखलढुंगा लिखु-२ सत्लुनका १२ वर्षीय पर्वत गिरीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।