पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।
नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा हिन्दु धर्मलाई आदर्श मान्ने र धर्म रक्षाका लागि लागिरहने पदाधिकारीहरुलाई समेत धर्म विरोधि जस्ता आरोप लगाएर हिन्दु धर्मकै विरोध गर्नेहरुले प्रचारवाजी गरेको हुन सक्ने कोषका एक पदाधिकारीले बताए।
कसैको निजी स्वार्थ र कुण्ठा पूरा नभएकै कारण आधारहीन आरोप–प्रत्यारोप र प्रचारबाजी समेत गरेको सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा नकारात्मक समाचार प्रकाशन गर्न लालयित रहेको भन्दै हिन्दू धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई शिरोधार्य गर्दै भगवान् श्रीपशुपतिनाथको सेवामा लागिरहेको व्यक्तिलाई हतोत्साहि पार्न खोजिएको कोषका एक पदाधिकारीले बताए ।
‘भगवान् पशुपतिनाथको गरिमालाई अझ समुच्च बनाउनु हामी सबैको परम दायित्व हो भन्ने कुरामा हामी सदैव सचेत रहँदै कार्यसम्पादन गर्दै आएका छौँ । तसर्थ, यस्ता अर्नगल प्रचारको भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी तथा सम्बन्धित सबैमा जानकारीका साथ अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।
पशुपतिनाथमा रहेको शिवलिंगको जलहरिबारे उजुरीका आधारमा अनुसन्धान भईरहेको र अनियमितता भएकै छ भने स्थिति अहिले नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्।