प्रहरीले मोरङ बेलबारीबाट १९ किलो ६५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका-३ का २८ वर्षीय महेश्वर राई छन्।
सन्तोषको घरबाट चार किलो ६५० ग्राम र ज्ञानुराजको घरबाट १५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
महेश्वरले उक्त गाँजा कारोबारमा संलग्न देखिएपछि महेश्वरलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, लागुऔषध नियन्त्रण ब्युरोले नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-१ का सुधीर प्रधानसहित १३ जनालाई पक्राउ गरेको छ।
हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालक प्रधानसहितलाई बुढानिलकण्ठबाट ब्युरोले पक्राउ गरेको हो।
यसैगरी, प्रहरीले चार किलो ३५ ग्राम चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जनालाई पक्राउ गरेको छ।
कतार एयरको जहाजबाट दोहा उड्न लागेका म्याग्दी मंगला गाउँपालिका-३ का दिलबहादुर गुरुङ, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ र कृष्णबहादुर तामाङलाई पक्राउ गरेको हो।
यस्तै, प्रहरीले बर्दिया बारबर्दिया नगरपालिका-९ का राजकुमार धिताल र बर्दिया बढैयाताल गाउँपालिका-७ का रमेश थारुलाई २२ ग्राम ब्राउनसुगर, तौलने तराजुसहित पक्राउ गरेको छ।
यसैगरी, धादिङ सिद्धलेक गाउँपालिका-२ का इश्वर इटनी र झापा विर्तामोड-९ का रञ्जित राजवंशीलाई १७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको लागुऔषध ब्युरोले जनाएको छ।