गाँजासहित पक्राउ परेका युवा भीम कामतको प्रहरी हिरासतमै मृत्यु भएको विषयलाई लिएर उनका आफन्तले गरेको चक्काजाममा प्रहरीसँग झडप भएको छ।
विराटनगरस्थित भट्टीमोडमा सडक अवरूद्ध गर्न बसेका उनीहरूलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो। प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका छन्।
शुक्रबार दिउँसो विराटनगर- ११ बाट गाँजासहित पक्राउ परेका ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो। कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले रहस्यमय तरिकाले मृत्यु भएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
कामतको मृत्यु भएको विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सोमबार पाँच सदस्य छानबिन समिति गठन भएको छ।