संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोष्टमार्टमको लागि धरान पठाइएको छ।
मादी नगरपालिका- १ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार जिसीले जानकारी दिए।
'पोष्टमार्टमको लागि शवहरू घोपामा लगिएको छ,' उनले भने,'अस्पताल पुर्याउन गाडी, ट्याक्टरहरूको व्यवस्था गरेका छौं।'
संघीय इकाइ प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको थियो। तालिमप्राप्त कुकुरसहितको टोली सोमबार साँझ पुगेको थियो। टोली हिजै पुगे पनि आज बिहानबाट मात्रै मुचुल्का उठाइएको थियो।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि पठाएको डिआइजी जिसीले बताए। योसँगै अनुसन्धान अघि बढेको उनले बताए।
सोमबार बिहान एकै परिवारका ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको शव फेला परेको थियो। उनीहरू शव छुट्टाछुट्टै स्थानमा फेला परेको थियो। प्रहरीका अनुसार उनीहरूको चार वटा ठाउँमा शव फेला परेको हो।
मृतकको टाउकोमा चोटहरू देखिएको डिआइजी जिसीले बताए।
'ब्ल्नट फोर्स भनिएको छ। केही सामानले टाउकोमा हिर्काएकोजस्तो देखिएको छ। चोटहरू देखिएका छन् तर शरिरका अन्य भागमा खासै देखिएका छैनन्,' उनले भने।
घटनाबारेमा थप अनुसन्धान नगरीकन अरू भन्न सकिने अवस्था नभएको उनले बताए।
अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली संखुवासभा गएका छन्। तर पुगिसकेका भने छैनन्।