भ्रष्टाचार गरेको आरोपमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाका सहायकसहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसहित तीन जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
शाह सर्लाहीको ऋण फाँटका सहायक हुन्।
सर्लाहीको लालवन्दी नगरपालिकाको भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको र भवन बन्ने काम रोकिएको भन्ने उजुरी पछि अख्तियारले अनुसन्धान थालेको थियो।
अनुसन्धानमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत बनाइ ४२ लाख रुपैयाँ भुक्तानी लिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ।
शाहले लोकबीर बेताली/पाँच कुमारी जे.भीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानसगँको मिलोमतोमा ४२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता रिसालले बताए।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको ४२ लाख रुपैयाँ बिगो कायम गरी कैद सजायको मागदाबी गरेको छ।
अख्तियारले सहायक शाहविरूद्ध चार वर्षदेखि ६ वर्ष सम्मको कैद सजाय मागदाबी गरेको छ। साथै गुप्ता र पासवानलाई दुई वर्ष कैद सजाय दिन माग गरेको छ।