संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ।
मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो।
५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।
संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा तालिमप्राप्त कुकुर लिएर घटनास्थल तर्फ जाँदैछन्। दिउँसो करिब २ बजे धरानबाट हिँडेको दाहालसहितको टोली घटनास्थल पुग्न अझै एक-डेढ घण्टा लाग्न सक्ने अनुमान प्रहरीको छ। जसकारण मुचुल्का उठाउने काम भोलि बिहानबाट मात्रै सुरू हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।
बिहान १० बजे जिल्ला प्रहरी कार्यालयबाट हिँडेको सुवेदीको टोली अपराह्न ४ बजेमात्रै पुगेको उनले बताए।
'हामी ४ बजेतिर पुग्यौं। तालिमप्राप्त कुकुरसहितको टोली आउन बाँकी छ,' उनले भने,'टोली नआएसम्म हामीले घटना र लाशको जाँच गर्दैनौं। कुकुरले केही 'लिड' दिन्छ कि भन्ने पर्खाइमा छौं। एक-डेढ घण्टा लाग्छ होला पुग्न।'
टोलीले घटनास्थलको, लम्बाइ चौडाइ लगायतका विषयमा सामान्य टिपोटहरू उठाइसकेको उनले बताए। प्रहरीले लाशको प्रकृति र चोटपटकको अवस्था भने अहिले हेरिसकेको छैन।
'हामी अहिले घर पनि छिरेका छैनौं। सबै कुरा हेर्न बाँकी छ कुकुरसहितको टोली आएपछिमात्रै भन्न सकिन्छ,' उनले भने।
उनका अनुसार शवहरू चार ठाउँमा भेटिएका छन्। सासु-बुहारीको नजिकैको खोल्सामा, दुई बालबालिकाको घर भन्दा ५० मिटर माथितिर, तेजबहादुरको घरभन्दा २०० मिटर टाढा र आमाको शव घर भित्र फेला परेको हो।
साथै ती सबै शवहरू घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए। तीमध्ये तेजबहादुरको मात्रै शरिरबाट रगत बगेको देखिएको उनले बताए। ती शवहरू अहिले नछुने प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले बताए।
'अहिले कुकुरसहितको टोली घटनास्थल नपुग्दासम्म अरूले शव छुँदैनन्। कुकुरले सुँघेर पत्ता लगाउने हो। हाम्रो शरीरबाट मिनेट-मिनेटमा डेड सेलहरू झर्छन्। त्यसैको आधारमा पत्ता लगाउने हो,' उनले भने, 'त्यसैले अरू त्यहाँ गयो भने कुकुर कन्फ्युज हुने भएकाले अहिले प्रहरीले पनि शव छुँदैनन्। ब्लड एक जनाको शवबाट मात्रै बगेको देखिन्छ। पल्टाएर नहेरेसम्म अरू थप भन्न पनि सकिन्न।'
टोलीले सोधपुछ गर्ने काम अघि बढाएको उनले बताए।
यस घटनामा एक जनाभन्दा बढीको संलग्नता भएको प्रहरीको आशंका छ। एकै व्यक्तिले ६ जना व्यक्तिको हत्या गरी विभिन्न ठाउँमा राख्न कठिन हुने प्रहरीको भनाइ छ।
'लाशहरू धेरै ठाउँमा भएको हुँदा एक जनाले मात्रै सक्दैनन् जस्तो लाग्छ,' प्रहरी नायब उपरीक्षक सुबेदीले भने,'अनुसन्धान गर्दै जाँदा थप खुल्ला।' प्रहरीले घटनास्थलबाट अहिले कुनै हतियार फेला पारेको छैन।
घटनास्थलबाट ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने जीवित नै भेटिएका छन्। श्रीमतीसहित परिवारका सबै मारिँदा पनि उनले थाहा पाएका थिएनन्। तेजबहादुर लगायतको शव देखेपछि छिमेकी लक्ष्मीभक्त कार्कीले वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवाललाई सोमबार बिहान करिब ९ बजे फोन गरेका थिए।
उनले घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय चैनपुरलाई खबर गरिएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्वमा छ। जसकारण प्रहरीको टोली समयमै पुग्न सकेन।
चैनपुर प्रहरीलाई खबर भएपछि १० किलोमिटर टाढामा रहेको प्रहरी चौकीबाट केही प्रहरी पुगेर घटनास्थललाई सुरक्षित बनाइएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटनास्थल पुगेको थियो।
स्थानीयले शवलाई हेर्दै जाँदा अरू मृत अवस्थामा फेला परेपनि बौद्धमान भने सुतिरहेको अवस्थामा फेला परेका थिए।
उनलाई स्थानीयले उठाएर जानकारी गराएपछि मात्रै घटनाबारे थाहा भएको वडाध्यक्ष कटुवालले बताए।
स्थानीयका अनुसार बौद्धमान गएराति ६ बजे नै सुतेका थिए।
'हिजो राति खाना खाएर ६ बजे नै सुत्नुभएको रैछ। बिहान स्थानीयले थाहा पाएर बोलाउन जाँदा पनि खेततिर गएका होलान् काम गर्न भन्नुभयो,' वडाध्यक्ष कटुवालले भनेका थिए, 'घटनाबारे त मैले केही पनि थाहा पाइनँ भन्नुहुन्छ।'
एकै पटक मारिएका कार्की परिवारको आर्थिक अवस्था सामान्य छ। दुई जना छोरा नरेश र रमेश डेढ वर्षदेखि विदेशमा छन्। नरेश मलेसियामा छन् भने रमेश दुबईमा छन्।
उनीहरू ढुंगामाटोले बनेको एक तले घरमा बस्थे।
'म पनि उहाँहरूलाई चिन्थें। सामान्य घर परिवारका हुनुहुन्छ उहाँहरू। खेती किसानी गरेर बस्ने गर्नुहुन्थ्यो। मकै धान रोपेर खाने गर्नुहुन्थ्यो, 'कटुवालले भने,'छोराहरू दुई जना विदेशमा छन्। उनीहरूमध्ये एक जनाकी श्रीमतीलाई पनि मारिएको छ।'
यो पनि: परिवारै सखाप हुँदा जोगिए ९० वर्षीय वृद्ध, दुई नाति छन् मलेसिया र दुबईमा