ललितपुर महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई नेपाल भाषा तालिम दिन सुरू गरेको छ।
पुल्चोकस्थित दमकल चोकको आफ्नै भवनमा नगर प्रहरीलाई नगरप्रहरी प्रमुख सिताराम हाछेथुले नेपाल भाषा प्रशिक्षण गराएका हुन्।
२ सातासम्म बिहान ९ बजेदेखि १० बजेसम्म सबै नगरप्रहरीलाई नेपाल भाषा तालिम दिने उनले जानकारी दिए।
‘मेयर साबको निर्देशन अनुसार आजबाट दुई सातासम्मका लागि हामीले तालिम सुरू गरेका छौं। यसले हामीलाई हाम्रो काम छिटो र सहज सम्पादन गराउन मद्दत पुर्याउँछ,’ उनले भने।
ललितपुर महानगरको कार्यक्षेत्रभित्र अधिकांश स्थानमा नेवार समुदायको बाक्लो बस्ती भएकाले उनीहरूसँग प्रत्यक्ष कुराकानी गर्न नेपाल भाषा सिकेमा राम्रो हुने उनले बताए।
‘हामी विदेशी भाषामा (अंग्रेजी, जापनीज, कोरियन) कुरा/बोल्दा आफूले आफूलाई महान भएँ भन्ने सम्झन्छौं । भारतमा जाँदा पनि हामी हिन्दी भाषाकै प्रयोग गर्छौ। नेपालमा आएका भारतीय ब्यापारी तथा अन्य भारतीयसँग पनि हिन्दीनै बोल्छौं। तर नेपाल भाषा कतै प्रयोग गरेको पाइन्न, त्यसैले हामी हाम्रा प्रहरी जवानलाई नेपाल भाषामा पनि बोल्न र बुझ्नसक्ने बनाउन यो तालिमको सुरू गरेका हौ’, उनले भने।
प्रहरी भएपछि सबै स्थानीय बोलिचालीको भाषाको ज्ञान भए कामको सिलसिलामा कतिपय कुराको पूर्व जानकारी समेत पाउने भएकाले नेवारी भाषा कक्षा सुरू गरेको उनले बताए।
‘हाम्रो महानगरमा नेपालभाषीको बाहुल्यता बढी भएको हुँदा नेवाः भाषाको ज्ञान हुनु आवश्यक रहन्छ । नेपाल भाषा नबुझ्दा कतिपय स्थान ( खोकना, बुङ्गमती, हरिसिद्धि, बंगलामुखी, मंगलबजार, सुन्धारा, गाःबहाल) मा नगर प्रहरीलाई काम गर्न गाह्रो भएको छ, त्यसैले पनि नेपाल भाषाको तालिम सुरू गरेका हौ’, उनले भने।