भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ का ५२ वर्षीय आशबहादुर लिम्बु छन्।
उनलाई आइतबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। उनका अनुसार लिम्बुले आफ्नो घरमा भरुवा बन्दुक बनाउने ‘कारखाना’ नै सञ्चालन गरेका थिए।
लिम्बुलाई उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पासो भएको बन्दुक १ थान, बारुद १ किलो, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थानसहित पक्राउ गरिएको जिसीले बताए।
यसैगरी, फलामको काँजो ३ थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजार पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ।
बेलबारी तथा आसपास क्षेत्रमा वनजंगल छ। लिम्बुले सिकार गर्नेहरूलाई बन्दुक बेचबिखन गर्ने गरेको अनुमान प्रहरीको छ।