गाँजासहित पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका व्यक्तिको मृत्यु भएपछि परिवारले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन्।
शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन किलो गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो।
हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। उनको त्यहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अस्पतालमै उनको मृत्यु भएको खबरपछि अहिले कोशी अस्पताल परिसरमा विरोधमा उत्रिएका कामतका परिवारले घटनाको छानबिनको माग गरेका हुन्।
उनकी पत्नी यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेका व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको दाबी गरेका छन्।
‘त्यसैले घटनाको छानबिन हुनुपर्छ’ उनीहरुको माग छ ।
मृतक कामत पक्राउ परेयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए। लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारीमा प्रहरी थियो।
प्रहरीले भने हिरासतबाट अदालत लैजानका लागि बाहिर निकाल्दा उनी ढलेका थिए। रिंगटा लाग्यो भन्दै ढलेका उनलाई अस्पतालमा पुर्याएको केहीबेरमा चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीका अनुसार उनको पोष्टमार्टमको तयारी भइरहेको छ।