नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले अपराध नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
शुक्रबार नेपाल प्रहरीको साउन महिनाको मासिक कार्यप्रगति समीक्षा गर्दै प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
उनले संगठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकाविरूद्ध हुने अपराधहरू नियन्त्रण गर्न विशेष चनाखो भई कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।
उनले कार्यक्रममा तथ्यांकहरूको विश्लेषण गर्दै साउन महिनामा जघन्य अपराधमा कमी आएको चर्चा गरे।
लागुऔषध कारोबारमा संलग्न पक्राउ तथा लागुऔषध बरामदमा प्रहरीले उल्लेखनीय काम गरेको उनले बताए। त्यसलाई थप नियन्त्रण गर्न समुदायमा थप प्रहरी परिचालन गर्नुपर्नेतर्फ समेत ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए।
पीडितले समयमै न्यायको आभास गर्न नसकेमा प्रहरीप्रतिको संस्थागत विश्वास कम हुँदै जाने भएकोले त्यसप्रति संवेदनशील हुन आइजिपी क्षेत्रीले आग्रह गरेका थिए।
साथै, अभियोजन कर्ता प्रहरी र अदालतबीच संस्थागत र संरचनागत समन्वयलाई अझ प्रभावकारी बनाई बाँकी मुद्दाहरूको सफल अनुसन्धान गर्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।