जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
विभिन्न ५ जना व्यक्तिहरूबाट ७ लाख ५५ हजार रुपैयाँ उठाएर ठगी गरेको आरोपमा यमूनामाई गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय विनय राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोही गाउँपालिकास्थित सुकदेवचोकबाट बुधबार पक्राउ परेका हुन्।
विनयले पीडितहरूलाई गत वैशाख २० गते दिउँसो गौर नगरपालिका-८ स्थित झोलुङगेपुल नजिक बाँसघारीमा बोलाई चिनजान गरी प्रहरीमा आफ्नाे राम्रो सम्पर्क रहेको, भगौडा प्रहरीको खाली ठाउँमा जागिर लगाइदिन सक्ने भन्दै प्रलोभनमा पारेका थिए।
प्रहरीमा जागिर लगाइदिन नसकेमा विदेशमा राम्रो काममा पठाइदिने भन्दै उक्त नगद ठगी गरी फरार भएका थिए।
उनीमाथि जिल्ला अदालत रौतहटबाट ठगी सम्बन्धी कसुरमा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।