हेटौंडास्थित युनिलिभर नेपाल लिमिटेडमा नापतौल तथा गुण नियन्त्रण कार्यालयको टोलीले सिलबन्दी गरेको छ।
म्याद गुज्रिएको कच्चापदार्थ फेला परेपछि कार्यालयको टोलीले उसको गोदाममा सिल गरेको हो। युनिलिभरले चिया उत्पादन गर्दै आएको छ।
प्रशासनसहितको अनुगमन टोलीले उक्त उद्योगमा रहेको चियापत्तीको म्याद गुज्रिएको फेला पारेको थियो।
प्रशासनका अनुसार गोदाममा रहेका ९२० बोरामा कच्चापदार्थ म्याद गुज्रिएको भेटिएको छ।
३२ टन बढी कच्चापदार्थको म्याद गुज्रिएको फेला पारेपछि उद्योगको गोदाम सिल गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
म्याद गुज्रिएको भेटिएको कच्चापदार्थ परीक्षण गर्द नापतौल तथा गुण नियन्त्रण विभागमा पठाइएको छ।
‘म्याद गुज्रिएको कच्चापदार्थ फेला परेपछि गुण नियन्त्रण कार्यालयको टोलीले हाम्रो प्रतिनिधिसमेत बोलाएर रोहबरमा मुचुल्का उठाएको छ,’ पाण्डेले भने, ‘विभागबाट रिपोर्ट आएपछि मुद्दा अभियोजन हुन्छ।’
उक्त उद्योगको कसुर स्थापित भएको खण्डमा खाद्य ऐन आकर्षित गरेर कारबाही गर्न सकिने उनले बताए।