मेलम्ची खानेपानी आयोजनाको माथिल्लो भू-भागको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंकको विज्ञ टोली आउने भएको छ।
खानेपानी मन्त्रालयका अनुसार एसियाली विकास बैंकले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्न एडिबीको टोली आउने भएको हो।
खानेपानी मन्त्रालयले उक्त भू-भाग जोखिमयुक्त रहेको भन्दै एडिबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो।
मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेका अनुसार एडिबीले खानेपानी मन्त्रालयको अनुरोध स्वीकार गरी के-के काम गर्ने भनी ‘टिओआर’ पठाएको थियो।
उक्त टिओआर मन्त्रालयले स्वीकृत गरेको प्रवक्ता न्यौपानेले बताए।
‘एडिबीले पठाएको टिओआर स्वीकृत भएको पत्र पठाइसकिएको छ,’ उनले भने, ‘अब एडिबीको टोली अध्ययन गर्न आउने बाटो खुलेको छ।’
हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आ-आफ्नो हिसाबले अध्ययन गरिरहेका छन्। तर, खानेपानी मन्त्रालयले भने एडिबीबाटै अध्ययन गराउन खोजेको हो।
एडिबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो।
एडिबीले मेलम्चीको माथिल्लो भू-भागको स्थिति, त्यसलाई नियन्त्रण गर्न सकिने/वा नसकिने, सकिए के कसरी गर्न सकिन्छ भनी समग्र प्रतिवेदन दिने न्यौपानेले बताए।
मेलम्चीमाथिको भू-भागमा वर्षौंदेखि हिमपहिरोले ल्याएर थेग्रिनी जम्मा गरेको देखिएको छ। हाल त्यही थेग्रिनी बगेर मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ।
मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, दुई वटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ। सो क्षति पूर्ति गरी अस्थायी रुपमा खानेपानी काठमाडौं झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी आयोजनाले मन्त्रालयमा पेश गरेको छ।
गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ। सो बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ। त्यसले मेलम्ची खानेपानी आयोजनास्थललाई क्रमश: क्षति पुर्याइरहेको छ।
यो पनि हेर्नुहोस्