प्रहरीले मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरा रहेका छन्।
उनीहरूलाई प्रहरीले मंगलबार मध्यराति घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
क्षेत्रीको घरमा तलासी लिने क्रममा मेड इन युएसए लेखिएको पेस्तोल र तीन राउन्ड गोली फेला परेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
सो हतियार खरिदका क्रममा बोहोरासमेत संलग्न रहेको खुलेपछि प्रहरीले बुधबार बिहान ३ बजे उनलाई पक्राउ गरेको उनले बताए।
दुबैलाई हातहतियार तथा खरखजना कसुरमा थुनामा राखेर अनुसन्धान थालिएको छ।
यस्तै, बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित बिधायक होटेलबाट मेड इन युएसए लेखिएको म्याग्जिनसहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिनसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका-४ गंगानगर बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद कुशवाहा रहेका छन्।
उक्त होटलमा हतियारसहित दुई जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो।