हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरको फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
त्यहाँका एक फलफूल व्यापारीले हुण्डी कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट टोली खटिएको थियो।
सो टोलीले स्टल नम्बर १८ मा काम गर्ने रामेछाप सुनापाती गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौंको कालीमाटी डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सेनाको झोला चेक गरेको थियो।
सो झोलाबाट प्रहरीले ३० लाख सात हजार रूपैयाँ बरामद गरेको परिसरले जनाएको छ।
साथै काभ्रे चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ घर भई कुलेश्वर बस्ने फलफूल व्यापारी मिनप्रसाद गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरू दुबै जना अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।