आइतबार बिहानदेखि अवरूद्ध बनेको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड एकतर्फी खुलेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तानसेन नगरपालिका-८ डुम्रेमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो।
अविरल वर्षाका कारण शनिबार रातिदेखि सो सडक खण्डको एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो।
डुम्रेको पहिरो ठूलो भएकाले आइतबारदेखि खुलाउने प्रयास गरिए पनि सोमबार दिउँसो ४ बजेदेखि मात्र एकतर्फी सडक खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले जानकारी दिए।