दाङको तुलसीपुरमा श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइतबार बिहान २ बजेतिर योगीले आफ्ना श्रीमान पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरी हत्या गरेको खुलेको हो।
‘हात र कुहिनोमा हँसिया प्रहारबाट लागेको गहिरो घाउ छ,’ डिएसपी अर्याललले भने,‘एउटा दाँत पनि भाँचिएको छ। अत्याधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको देखिन्छ।’
श्रीमान मदिराको अम्मली रहेको र उक्त दिन पनि पुरीले अत्याधिक मदिरा सेवन गरी आएको तथा आफूले लगाएको कपडामा दिशा पिसाब गरेपछि आक्रोशमा आएर आफूले सुरूमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा श्रीमानको मृत्यु हुन पुगेको भनेर योगीले प्रहरीसमक्ष बयान दिएको डिएसपी अर्यालले बताए।
‘सुरूमा त प्रहरीलाई सुतेकै ठाउँमा पुरीको मृत्यु भएको भनेर खबर गरिएको थियो,’ डिएसपी अर्यालले भने, ‘घटनास्थलको प्रकृति र मृतकको घाउ हेर्दा कर्तव्य गरेको ठानेर श्रीमतीलाई पक्राउ गरेपछि तथ्य उजागर भएको हो।’
घरमा पुरी दम्पतीमात्रै बस्दै आएका थिए। उनीहरूका छोरा विदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको प्रहरीले जनाएको छ।
गाउँमै बिहे भएकी छोरीले आफ्ना बुवाको हत्याविरूद्ध प्रहरीमा जाहेरी दिएको डिएसपी अर्यालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।