सल्यानमा एक ब्यक्ति मृत फेला परेका छन्।
दार्मा गाउँपालिका ५ का अँधेरीखोलाका ४९ वर्षीय बमबहादुर खत्री शुक्रबार बिहान सात बजेतिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
फारूला भन्ने ठाउँमा पैसा ल्याउन जान्छु भन्दै खत्री बिहीबार घरबाट निस्किएको खुल्न आएको पौडेलले बताए।
‘प्रहरी अहिले घटनास्थलको सुरक्षा गरी बसेको छ,’ प्रवक्ता पौडेलले भने, ‘हामीले शव पनि अझैं छोएका छैनौं।’
बिदामा बसेका सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापा खबर सुनेर बाँकेबाट तालिम प्राप्त कुकुरका साथ आइरहेको हुँदा आफूहरूले शव नछोएको प्रहरी निरीक्षक पौडेलले बताए।
‘डिएसपी साप कुकुर साथमै लिएर नजिक आइपुग्नु भएको छ,’ पौडेलले भने, ‘कुकुर आएपछि हामी बल्ल शव छुनेछौं।’
झन्डै दुई महिना पहिला सोही ठाउँकै २८ वर्षीया खिमा खत्री खड्का पनि खोला किनारमा मृत अवस्थामा फेला परेकी थिइन्।