कर्तव्य ज्यानमुद्दामा अदालतबाट १९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका-१४ का ७५ वर्षीय यमप्रसाद पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पोखरामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला अदालत स्याङ्जाको २०५४ साल कात्तिक ४ गतेको फैसलाले पौडेललाई १९ वर्ष ६ महिना १२ दिन कैद तोकेको थियो। त्यसयता उनी फरार थिए।
पौडेललाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
यस्तै, प्रहरीले सुनसरीबाट बुधबार ८३ जना फरार अभियुक्त पक्राउ गरेको छ। फैसला कार्यान्वयनको सिलसिलामा गर्भपतन, मानव बेचविखन, सवारी ज्यान, लागुऔषध, जबरजस्ती करणी, अपहरण, ज्यानमार्ने उद्योग, कर्तव्य ज्यानलगायत मुद्दाका फरार अभियुक्त पक्राउ गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
पक्राउबाट अदालतमा बेरुजु रहेको ८० वर्षी दुई महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रूपैयाँ जरिवाना फर्स्यौट भएको थापाले बताए।