दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिका, रोटरी क्लव अफ बौद्ध र सिउरानी भञ्याङखर्क खानेपानी तथा सरसफाइ समितिबीच आयोजना निर्माण गर्न सहमति पत्रमा शनिबार हस्ताक्षर पनि भइसकेको छ।
रोटरी क्लब बौद्धका तर्फबाट अध्यक्ष आङ् कुसाङ शेर्पा, बेथानचोक गाउँपालिका तर्फबाट गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, नेवा संस्थाका तर्फबाट प्राविधिक प्रबन्धक अरुण कुमार श्रेष्ठ र सिउरानी भञ्याङखर्क खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष रामबहादुर तामाङबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार बेथानचोक गाउँपालिका-६ भुग्देउका करिब २३३ घरधुरीले उक्त खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानी सुविधा पाउँछन्। आयोजना कूल दुई करोड लगानीमा निर्माण गर्न लागिएको छ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाले आउँदो आर्थिक वर्षभित्र आयोजनाका काम सकिएर एक घर एक धारा अभियानअन्तर्गत पानी वितरण गरिनेछ।
यहाँ आयोजना सञ्चालन गर्न नेवामार्फत् रोटरी क्लब बौद्धले ९२ लाख ७३ हजार नौसय ४३ रुपैयाँ उपलब्ध गराउनेछ भने बेथानचोक गाउँपालिकाले ५० लाख बजेट उपलब्ध गराउनेछ तथा बाँकी जनसभागितालगायत अन्य स्रोतबाट खानेपानी योजना सम्पन्न हुने गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए।