बिचौलियाको काम गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर-८ अमरटोलका १८ वर्षीय प्रद्युम्न राय र २३ वर्षीय आनन्दकुमार साह रहेका छन्।
उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
विराटनगरका विभिन्न अस्पतालमा आउने बिरामीलाई झुक्याएर उनीहरूले आफ्नो सम्पर्कमा रहेका क्लिनिक तथा अस्पतालमा पुर्याउने गरेको आरोप छ।
‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्ने बहाना बनाएर बिरामी तथा आफन्तहरूलाई झुक्याउने गरेको प्रहरीले जनाएको छ।
‘आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिक साथै फार्मेसीमा पनि औषधी किन्न बाध्य बनाउने गरेको पाइएको छ,’ मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।
दुबैलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान थालिएको उनले बताए।