सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार पौने २ बजे राजविराज नगरपालिका वडा नम्बर १५ विश्वकर्मा चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
राजविराज वडा नम्बर ११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको दुर्घटनामा मृत्यु भएको हो। साथै, मोटरसाइकलमा सवार २१ वर्षीय गौतम सदा सामान्य घाइते भएका छन्।
खाडो पुलबाट राजविराजतर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
काफ्लेका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनापछि त्यसमध्ये विनोद र गौतम घाइते भएपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको थियो।
त्यसैक्रममा विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अर्का धनराज सदा भने अहिले फरार छन्। अहिले सो मोटरसाइकल कसले चलाएको भन्ने नखुलेको प्रहरीले जनाएको छ।
फरार धनराजको प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।