ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा 'यौन व्यवसाय' गरेको खुल्न आएको छ।
सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा यौन व्यवसाय गरेको खुल्न आएको हो।
प्रहरीका अनुसार उक्त अपार्टमेन्ट खड्गी र उनीसँग बस्दै आएका सुरज खड्गीले भाडामा लिएका थिए। प्रहरीले छापा मारेर संचालक खड्गीसहित तीन जना युवती र तीन जना पुरुष ग्राहकलाई रंगेहात पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौं २८ डल्लू बस्दै आएका वर्ष ५० का राजेश अग्रवाल, रुकुम घर भइ कुमारीगाल बस्ने वर्ष २३ की एक युवती, बर्दिया ठाकुरबाबा नगरपालिका घर भइ बुढानिलकण्ठ बस्दै आएका वर्ष २९ का सुनिल विष्ट, बालाजु बस्ने २४ वर्षीया एक युवती, काँडाघारी बस्ने २५ वर्षीया युवती र काभ्रे पनौतीका ३३ वर्षीय प्रतिक कर्माचार्य छन्।
युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर खड्गीले यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
गीता खड्गी र सुरज खड्गीले मासिक ५० हजार भाडामा अपार्टमेन्ट लिएर यौन व्यवसाय गरिरहेको सूचना आएपछि छापा मारेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। उनका अनुसार प्रहरी ग्राहक बनेर त्यहाँ प्रवेश गरेको थियो।
'हामीले फोन नम्बर पत्ता लगाइसकेपछि केही दिन ग्राहक जस्तै बनेर कुरा गर्यौं,' एसएसपी बज्राचार्यले भनिन्, 'त्यसपछि उनीहरूले भित्र प्रवेशका लागि पासकोड दिने रहेछन्, त्यो लिएर हामी गयौं।'
मोबाइलमा दिइएको पासकोड नभने अपार्टमेन्ट प्रवेश गर्न खड्गीले ढोका नै नखोलिदिने गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अपार्टमेन्टभित्रै बार, सिसिटिभी र परिवार नियोजनका अस्थायी साधन किन्ने व्यवस्था मिलाइएको थियो। त्यसवापत उनीहरूले ग्राहकसँग चर्को मूल्य लिने गरेको प्रहरीले जनाएको छ।
खड्गीले क्रिष्टिना केसी नाम गरेकी युवतीलाई यौन व्यवसाय संचालनका लागि सुपरभाइजर बनाएकी थिइन्। उनले ग्राहक खोज्ने, ग्राहकलाई म्यासेज पठाउने, ह्वाट्सएपमा युवतीका फोटा पठाइदिने गर्ने अनुसन्धानमा खटेका एक प्रहरीले सेतोपाटीलाई जानकारी दिए।
'एक ग्राहकसँग चार हजारदेखि २० हजार रूपैयाँसम्म लिने गरेका रहेछन्,' एसएसपी बज्राचार्यले भनिन्, 'युवतीहरूलाई ग्राहकबाट लिएको रकमको आधा दिँदा रहेछन्।'
खड्गीले उक्त अपार्टमेन्टमा अहिलेसम्म आएका ग्राहकको सूची नै बनाएर राखेको खाता पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसमा पचासभन्दा बढी ग्राहकको नाम र मोबाइल नम्बर रहेको एसएसपी बज्राचार्यले बताइन्।
पक्राउ परेकामाथि वेश्यावृत्ति र वेश्यागमनको प्रचार-प्रसार गर्न नहुने ऐन अन्तर्गत अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ। उनीहरू दोषी भए कम्तीमा तीन वर्ष कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरीले अनुसन्धान बलियो बनाएर जाने हो भने यो ऐनले घरबेटी र भाडामा दिनेलाई पनि अनुसन्धानको दायरामा तान्न सक्छ।