पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न समिति बनेको छ।
गृह मन्त्रालयले शुक्रबार घटनासम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।
गत २५ गते बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय अगाडि पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मेडिकल कलेज भैरहवामा मृत्यु भएको थियो।
यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरूङ र प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीको समिति गठन भएको मन्त्रालयले जनाएको छ।
यसको स्थलगत अध्ययन गरी सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले जनाएको छ।
बिहीबार बसेको प्रतिनिधिसभामा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले यस घटनामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका थिए।
उनले प्रहरी निरीक्षक वाग्लेलाई दबाब दिएको हुँदा मानसिक रूपमा असन्तुलित भएर अचेत अवस्थामा बाटो काट्ने क्रममा दुर्घटना भएको बताएका थिए।