चेक बाउन्स मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बस्ने ४८ वर्षीय प्रेमकुमारी खड्गीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर एनएमबी बैंकको चेक काटेर पीडितलाई दिएकी थिइन्। त्यसरी चेक बाउन्स भएपछि प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
त्यसपछि उच्च अदालत पाटनले २०७६ जेठ २१ गते खड्गीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २० लाख जरिवाना ठहर गरेको थियो।
उनलाई प्रहरीले सोह्रखुट्टे काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयन गर्न ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ।