गत फागुन १९ गते बलात्कार आरोपमा पोखरा पर्स्याङका एक व्यक्ति पक्राउ परे।
पक्राउ परेका व्यक्तिलाई छुटाउन सक्ने भन्दै अन्य ३ जना व्यक्ति सक्रिय भए। छुटाउनका लागि उनीहरुले पक्राउ परेकासँग आर्थिक मोलमोलाई गर्न थाले।
‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, १ करोड रकम दिए मिलाइदिन्छु, नत्र १५ वर्ष जेल जानुपर्छ’ भन्न थाले।
बलात्कार आरोपीलाई यस्तो प्रलोभन देखाएर उनीहरुले १ करोड रुपैयाँ मागे। जसमध्ये १ लाख १० हजार नगद हात पारे भने १२ लाख रुपैयाँको चेक लिए।
उनीहरुले दिएको प्रलोभन अनुसार बलात्कार मुद्दा मिल्न सकेन। कानुनी कारबाही अघि बढ्यो। प्रहरीले यस्तो आश्वासन दिएको थाहा पाएपछि तीन जनामध्ये २ जना पोखराकै राष्ट्र बैंक चोकस्थित एउटा रेष्टुरेन्टबाट पक्राउ परे।
पक्राउ पर्नेहरुमा सुर्यलाल खड्का र कमानबहादुर तामाङ हुन्। अर्का एक जना भोजराज त्रिपाठी भने फरार छन्।
त्रिपाठी पोखराको सराङकोट निवासी हुन्। उनलाई सराङकोटबाटै बुधबार पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
‘बलात्कार मुद्दा मिलाइदिन्छु भनेर पैसा लिएका रहेछन्,’ डिएसपी हमालले भने, ‘उनीहरुलाई ठगी र जबर्जस्ती करणी कसुरमा मिलापत्र गराउन नहुने मुद्दामा अभियोग छ।’